काठमाडौं बबरमहलकी सुभासिनी श्रेष्ठ शारीरिक रूपमा आफैं अशक्त छिन् । तर, दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूसम्म डिजिटल पहुँच पुर्याउन उनले गरेको सत्कर्म प्रशंसनीय छ ।
इच्छाशक्ति भयो भने शारीरिक रूपमा कमजोर व्यक्तिले पनि बलिया–बाङ्गाको भन्दा अब्बल काम गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण हुन्, काठमाडौं बबरमहलकी सुभासिनी श्रेष्ठ (३६) । उनी नेपालकी यस्ती अपाङ्गता भएकी महिला हुन्, जो शारीरिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिसम्म डिजिटल पहुँच पुर्याउन अहोरात्र खटिइरहेकी छिन् ।
२०४५ सालमा घरकी कान्छी छोरीको रूपमा जन्मिएकी सुभासिनीलाई जन्मजात स्पाइनल कर्डमा समस्या देखियो । ६ महिनाकी हुँदा अप्रेसन त भयो तर पूर्ण रूपमा निको भएन । दुई वर्षकी भएपछि अलिअलि उभिने र हात समाएर हिंड्न सक्ने भइन् । खुट्टाको विकास भने राम्ररी हुन सकेन ।

शारीरिक रूपमा अपाङ्ग भए पनि परिवारको साथ–सहयोग र आफ्नो मिहिनेत भयो भने पढाइ र करिअर एकसाथ अघि बढाउन सकिन्छ भन्ने देखाइन् सुभासिनीले । हिंड्न अप्ठ्यारो भएकोले ५ कक्षासम्म घर नजिकैको क्याम्ब्रिज एकेडेमीमा पढिन् । बाँकी पढाइ साउथ पोइन्ट बोर्डिङ स्कूलमा भयो र त्यहींबाट २०६२ मा फर्स्ट डिभिजनमा एसएलसी पास गरिन् ।
कम्प्युटर साइन्स लिएर प्लस टु पढ्ने उनको इच्छा थियो । यो इच्छामा परिवारले साथ दियो । क्रिमसन इन्टरनेशनल कलेजबाट प्लस टु गरेकी सुभासिनीले कान्तिपुर सिटी कलेजबाट कम्प्युटर साइन्समै स्नातक गरिन् ।
स्नातक सकिने बित्तिकै ‘अनलिमिटेड टेक्नोलोजी’ आईटी कम्पनीमा काम शुरू गरेकी उनले त्यहाँ पाँच वर्षको अनुभव बटुलिन् । त्यसपछि दुई महिना काठमाडौं महानगरपालिका आईटी डिपार्टमेन्टको डिआई ट्रेनिसिपमा काम गरिन् ।
२०७० सालमा रोटरेक्ट क्लबका बारेमा थाहा पाइन् । रोटरेक्टकै एउटा कार्यक्रममा एक जना प्रेरक वक्ता जोसेप निरौला आउँदैछन् भन्ने जानकारी पाइन् । अनि जोसेपको कार्यक्रममा गइन् । जोसेपले भनेका हरेक कुरामा सुभासिनीलाई चाख लाग्यो ।हालसालै उनी नेपाल युवा परिषद्मा पनि साधारण सदस्यको रूपमा छनोट भएकी छिन् । साथै रोटरी क्लब अफ काठमाडौं हाइपमा पनि आबद्ध छिन् ।
More Information: https://www.onlinekhabar.com/personality/bridging-disability-providing-digital-access